
नेपालगंज – सरकारले स्वास्थ्य बीमा कार्यक्रम निजी अस्पताल तथा मेडिकल कलेजमा बन्द गरेपछि बिरामीको चाप सरकारी अस्पतालमा ह्वात्तै तीन गुणाले बढेको छ । सरकारले साउन १ गतेदेखि निजी अस्पताल तथा मेडिकल कलेजमा बीमा कार्यक्रम बन्द गरेको थियो ।
निजी तथा मेडिकल कलेजमा बीमा कार्यक्रम बन्द भएपछि यतिबेला बाँकेको भेरी अस्पतालमा बिरामीको चाप तीन गुणाले वृद्धी भएको छ । जसले गर्दा सेवाग्राहीले सेवा लिन लामो समय लाग्ने स्वास्थ्य बीमा काउण्टरका मञ्जु चौधरीले बताउनुभयो ।
स्वास्थ्य बीमा सेवा लिने बिरामीको संख्या बढेपछि अस्पताललाई व्यवस्थापन गर्न मुश्किल पर्न थालेको छ । बीमा सेवा लिन घण्टौं लाइन लागेर उभिनु परेको लाभग्राहीहरुको दुखेसो छ ।
चर्को गर्मीमा घण्टौं लाइन लागेर उभिनु पर्दा बिरामीले थप सास्ती खेप्नु परेको लाभग्राहीहरुको गुनासो छ । अस्पताल विकास समितिका सदस्य कृष्ण प्रसाद श्रेष्ठले सरकारले निजी तथा मेडिकल कलेजमा बीमा कार्यक्रम बन्द गरेपछि सरकारी अस्पतालमा जनशक्ति थप्नु पर्ने बताउनुभयो ।